महांकाल गाउँपालिकाको परिचय

नेपालको प्रदेश नं. ३ को ललितपुर जिल्लामा अवस्थित यस महाङ्काल गाउँपालिका भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ । करीब ८२.४४ व.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिमतिर कोन्ज्योसोम र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरीएको थियो । महाङ्काल गाउँपालिकामा साविकका गाविसहरु बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविसहरु समेटेर जम्मा ६ वडाहरु कायम गरिएको छ । महाङ्कालको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सीयस र न्युनतम तापक्रम २.३ डिग्री सेल्सीयस रहेको पाईन्छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ३ वटा उमावि तह, ४ वटा मावि, ५ वटा निमावि र १७ वटा प्रावि गरी जम्मा २९ वटा शिक्षण संस्थाहरु संचालित छन् । ललितपुर जिल्लामा नयाँ गठन भएका दुई गाउँपालिकाहरुमा धेरै सम्भावना बोकेको गाउँपालिकाको रुपमा महाङ्काल गाउँपालिका त छँदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दीगो बिकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्राम्हण (पहाडी) जाति ४,५४२ जना (४८.०५%), दोस्रोमा तामाङ ३,८८१ (४१.०६%) र तेस्रोमा क्षेत्री ५८८ (६.२२%) हरुको बसोबास रहेको छ । गाउँपालिकाका केहि सुगम क्षेत्रहरुमा व्यापार व्यवसाय सञ्चालनमा रहेको छन् साथै यहाँ प्राकृतिक श्रोत तथा सामाजिक एवं धार्मिक महत्वका क्षेत्रहरु समेत रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् । अध्ययनका लागि यस गाउँका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेको छैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, होलि, कृष्णजन्माष्टमी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।